ऋतु विचार/04
गयो बहाड वर्षाको, खडा भो रसिलो शरद्।
अर्कै स्वरूपमा निस्क्यो कविको कल्पना जगत्।।1।।
निस्के घनघटा फोरी देखाई भरिलो छवि।
अविद्याजाल तोडेको इलमी राष्ट्र झैं रवि।।2।।
धेरै कालपछी मिल्दा मित्रदर्शनको सुख।
डुब्यो आनन्दमा लोक लगाई हँसिलो मुख।।3।।
लोकोपकारमा खर्ची अनन्त जलसम्पति।
मनस्वी धीर झैं मेध बन्यो शान्त मुनिव्रती।।4।।
कहाँ कालो कडा कान्ति, कहाँ गर्जनतर्जन।
मेघले जलका साथै त्यागेछ सब दुर्गुण।।5।।
परोपकारव्रतले गलेका मेघ पावन।
प्रतिपच्चन्द्ररेखा झैं देखिन्छन् मनमोहन।।6।।
आफना जलधाराले बढेको विश्वको खुशी।
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी?।।7।।
रूपरङ्गादिले शून्य सत्त्वशेष कुनै धन।
जीवन्मुक्तसरी थाले हावामाफिक खेलन।।8।।
सेता बादलका टुक्रा कुनाकानी अली अली।
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैं गली।।9।।
बडो उज्यालो आनन्दी भगवान् शङ्करैसरी।
हिमालमा पस्यो मेघ विश्वबाधा सबै हरी।।10।।
मेघ झैं विश्वसेवामा लगाई शुद्ध जीवन।
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन।।11।।
हरायी मेघका साथै उज्याली बिजुली पनि।
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी?।।12।।
जगद्व्यापी उही मेघ टुक्रा टुक्रा भईकन।
हिन्दूसाम्राज्य झैं आज गिर्यो पायिन्न देखन।।13।।
मेघले अघि वर्षामा गरेका पुण्यवृष्टिको।
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको?।।14।।
दिव्य सौभाग्यधारामा नुहाई भइ निर्मल।
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल।।15।।
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा।।16।।
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको।
मैलोपन पखाल्यो कि प्रत्येक परमाणुको?।।17।।
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली।
शरद् मालिकिनी जस्तै गर्न थाली ढलीमली।।18।।
शुकीशक्यो हिलो सारा, धूलो छैन रतीभर।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैं मनोहर।।19।।
नरनारी, लतावृक्ष, पशुपक्षी तमामको।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको।।20।।
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ।
अपूर्व यो शरत्काल सबैको सुखधाम छ।।21।।
निर्दोषी नयनाऽऽनन्दी शरत्का रसिला दिन।
सधैं बस्ने भयेदेखि चाहिन्थे कविता किन?।।22।।
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर।
स्वच्छ देखिन्छ आकाश इन्द्रनीलबराबर।।23।।
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो।
धूलो वर्षादले मार्यो, मेघ आफैं पछी हट्यो।।24।।
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी।
झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी।।25।।
रातमा झल्कने ज्यादा ठूला साना हिरासरी।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनैभरी।।26।।
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी।।27।।
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरीथरी।।28।।
झल्कन्छ राति आकाश ती ताराहरुले गरी।
योगीका सुखशय्याको कार्चोपी चाँदनीसरी।।29।।
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन।
सच्चा अमृतका टुक्रा कमबेसी थिये कुन?।।30।।
शान्त भै ठाममा आये ठूला नदनदी सब।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेगवैभव।।31।।
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी।
जवानीको कडा माद दौडन्छ बिजुलीसरी।।32।।
वर्षाका जोरले मात्र उर्लेका खहरे जती।
छोडी आडम्बरी फूर्ति बन्न थाले बकव्रती।।33।।
नदीका जलले छोड्यो सारा बगर सुस्तरी।
ज्ञानीका मनले तुच्छ भोगको वासनासरी।।34।।
चुल्ठोसमान लर्केकी नदीको मझधार छ।
आनन्दी हंसको ताँती मानू सुन्दर हार छ।।35।।
आखासमान झल्कन्छ माछाको परिवर्तन।
गहिरो भुमरीरूप नाभि देखिन्छ शोभन।।36।।
हलुका लहरी हात, गाना कलकलध्वनि।
नचरी लाउँदै चल्छन् नदी सागरगामिनी।।37।।
शरत्का सङ्गले सङ्ले धमिला पोखरी सब।
सत्सङ्गको सफा रङ्ग सबैमा पर्छ वास्तव।।38।।
वृक्ष, पर्वत, आकाश गर्व सौन्दर्यको गरी।
पानीमा हेर्न लागे कि आफनू मुखमाधुरी?।।39।।
शनैः शनैः फिका पारी अघिको तेजिलोपन।
विप्र झैं दक्षिणाऽऽशामा लागे श्रीसूर्य लत्रन।।40।।
कन्यालङ्घन भो भन्ने सङ्कोचैले अलीकति।
झुकेका हुन् कि लाचारीसाथ ती पद्मिनीपति?।।41।।
दिननाथै उँधो लत्रे, दिनको के कुरा छ र?
जहाँसुकै पनी हुन्छ स्वामीमाफिक नोकर।।42।।
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति।
देखी हृदयले भन्छ अभिमान नले रती।।43।।
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर।
अत्यासले गलेछन् कि? चलेछन् कि उँधोतिर?।।44।।
धैर्यको शान्तिको दिव्य नमूनातुल्य निश्चल।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल।।45।।
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम।
देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि दुर्गम।।46।।
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली।
मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका चुली।।47।।
हिमालका पखेरामा तलै लत्रे पयोधर।
शिवका कटिको लम्बा बाघाम्बरबराबर।।48।।
निस्कँदा पद्मिनीनाथ छिचोली मेघको वन।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन।।49।।
देखिन्छ अघिको भन्दा राम्रो कमलसंहति।
चर्को विनाशबेलाको बत्ती झैं विमलद्युति।।50।।
थुँगा कमलका राम्रा देखिन्छन् पोखरीभरी।
आकण्ठ जलमा मग्न अप्सराका मुखैसरी।।51।।
पद्मका पुष्पले पद्मपोखरी ढकमक्क छ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ।।52।।
लियो सुगन्ध हावाले मिल्कायो तल केशर।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र?।।53।।
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी।
सुवर्णमय देखिन्छन् सारा कमलपोखरी।।54।।
विधाताले खटायेका कमलद्युतिजाँचमा।
जाँचकीतुल्य भै घुम्छन् भुमराहरु पुष्पमा।।55।।
लक्ष्मीको वास त्यो खास फक्रेको पद्मसन्तति।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति।।56।।
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि।
पद्मका वनमा गर्छन् कलहंस कलध्वनि।।57।।
काव्यमा कविको दिव्य कल्पनाशक्तिको सरी।
जलमा अति राम्रो छ हंसको गतिचातुरी।।58।।
हावाले जलमा राम्रा लहरी जुन आउँछन्।
झुलदै उनमा हंस डुङ्गीमा झैं रमाउँछन्।।59।।
दूध पानी दुवै छान्नै ज्ञानी परमहंस ती।
निराला चालमा चल्छन् को जान्ने तिनका गति?।।60।।
त्यो हंसगतिले चल्छ जल निर्मल सुस्तरी।
लययुक्त महात्माको चित्तको कलनासरी।।61।।
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी।
देखाउँछन् बडो राम्रो दाम्पत्यप्रेममाधुरी।।62।।
धन, धर्म दुवै धान्नै धान्यगौरवले उता।
खेतमा भरियो भारी भरिलो रमणीयता।।63।।
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल।
बयेली धानमा खेल्छ गर्दै नयनमङ्गल।।64।।
एकैनास पसायेका अर्धचन्द्रसमानका।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका।।65।।
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि।।66।।
खेतको मोहिनी शोभा हेरदाहेरदैमहाँ।
ब्रह्ममा ब्रह्मवेत्ता झैं लीन हुन्छ मनै वहाँ।।67।।
बदामी रङ्गको राम्रो देखदा खेतको छवि।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि।।68।।
कृषिको श्रमसाफल्य देखनाले प्रजा सब।
परमाऽऽनन्द पायेको योगी झैं छ खुशी अब।।69।।
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर।
खेतीका कुह्रुवातुल्य खेतैमा गर्दछन् घर।।70।।
साना रुगरुगायेर दौडने दिव्य खञ्जन।
गतिसौन्दर्यले साह्रै गर्दछन् मनरञ्जन।।71।।
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट।
हेर्दा भित्र छचल्किन्छ प्रेमपीयूषको घट।।72।।
जता हेर्यो उतै राम्रो आनन्दी रङ्ग लोकको।
छैन संसारमा नामनिशाना दुःख शोकको।।73।।
खोली कमलको छाता हम्काई काशचामर।
ऋतुराजैसरी गम्क्यो शरत्काल मनोहर।।74।।
फूलका मदको गन्ध भरियेको छतीवन।
शरत्को वनमा बद्ध हात्तीतुल्य छ शोभन।।75।।
वनमा फलपुष्पादि विशेष नभये पनि।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी।।76।।
वसन्तकै सरी सारा बगैंचाको बहार छ।
हावा वसन्तको भन्दा ज्यादा महकदार छ।।77।।
फुलेको हसनारूप शरत्को मन्द हास छ।
जसमा बहुतै चर्को वासनाको विकास छ।।78।।
हसनाको बडो हस्के देखी उत्ताउलोपन।
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन।।79।।
ढकमक्क शयेपत्री अभिमानीसमान छ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ।।80।।
बन्दैछ गमलारूपखोरमा गुणकेशरी।
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी।।81।।
रसीलो हरश्रृङ्गार वर्षाई पुष्प बर्बरी।
स्वर्गीय वासना भर्छ महात्मा झैं वरीपरी।।82।।
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ।
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ।।83।।
रङ्गमा रेशमैतुल्य ढङ्ग लोकै बिझाउने।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने।।84।।
उता गोदावरी जम्मै फुलेर ढकमक्क छ।
यता सरस नेवारी त्यो देखी अकमक्क छ।।85।।
एतावता सबैतर्फ शरत्को कान्तिमाधुरी।
झल्कायेर फुलेका छन् फूल राम्रा थरीथरी।।86।।
टल्कने हलुवाबेत लटर्याम्म रुखैभरी।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरीथरी।।87।।
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि।।88।।
वर्षाले जलले पूर्ण मेघमण्डलमा पसी।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी?।।89।।
चन्द्रको चाँदनीरूप झल्कँदा राति गौरव।
कपूरले लिपेजस्तो देखिन्छ जगतै सब।।90।।
आनन्दी देवतातुल्य चन्द्रका रश्मिजालमा।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा।।91।।
जुनेली रातमा राम्रो सुन्दा चहचहध्वनि।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी।।92।।
पुरानू विजयस्तम्भरूप राम्रो सुविस्तृत।
यो दशैंचाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित।।93।।
जसरी पीङ मच्चिन्छ हिन्दूजाति उसै गरी।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी।।94।।
यै शरद्मा दशैं हाम्रो, यसैमा दीपमालिका।
यसैमा धान्यसम्पत्ति, धन्य यो सुखतालिका।।95।।
माथमा जमरा माथी जमाई गुणकेशरी।
नरनारी जमेका छन् विजयाऽऽनन्दमा परी।।96।।
मनुष्यको कुरा के छ पशुपक्षी पनी सब।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव।।97।।
आनन्दको ध्वजातुल्य ठड्याई दीर्घ पुच्छर।
बाच्छाबाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर।।98।।
यताउति कतै केही नहेरी मस्त भैकन।
विजयी वीर झैं गर्वी थाले गोपति ढल्कन।।99।।
योगीको मन झैं पानी, बाटो वेदपथैसरी।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्का सङ्गले गरी।।100।।
हुनत अति उज्यालो हो शरत्काल खास
तर अलि कवितामा कम्ति नै भो प्रकाश।
रसिक गरनुहोला तैपनी दृष्टिपात
श्रम सब बुझि मेरो भन्छ यो लेखनाथ।।101।।