गौंथलीको चिरबिर

गौंथलीको चिरबिर
by लेखनाथ पौड्याल
301264गौंथलीको चिरबिरलेखनाथ पौड्याल

म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी।।१।।

अहो !! त्यस्ता ताता नजर अति राता विष सरी
तरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी।
तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथि
तिथी माघे औंसी शहरभर भूकम्प-फजिती।।२।।

जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भो
चल्यो भारी हा हा नसहिसकनू नै प्रलय भो।
कहाँ पाऊँ ठाडो घर, कसरि ओतौँ शिर भनी
दुवै भाले-पोथी फनफन घुम्यौँ व्याकुल बनी।।३।।

बिरालोको फेरि अधम चिलको, काग शठको
शिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको।
परी शङ्का भारी सबतिर बिचारी डुलिडुली
निराशामा रुन्थेँ अघि अघचिलो ठाम नमिली।।४।।

यहाँ तिम्रो सानू घरमहल वा रामझुपडी
खडा देखी राम्रो गगन-बिच खेल्दै लडिबुडी।
पसेको हूँ बाबा ! अलि दिन बसूँला कि म भनी
प्रियाको आगामी प्रसव दिनको उत्सव गनी।।५।।

तिमी भन्छौ मेरो सकल घर यो खास यसमा
चरी फुस्र्यो सानू कुन चिरबिरे रङ्गरसमा।
म भन्छू हे बाबा ! घरमहल मेरो छ नभन
पलामा घर्केका घरउपर दौडाउ नयन।।६।।

निमेषैमा भत्की घररर गरी घर्र त्यसरी
ढली ज्यानै हर्ने घर छ डरको दीर्घ भुमरी।
विधाताको भित्रै मधुर करुणाको रस परी
परेनौँ तै हामी विकट भुमरीमा अरु सरी।।७।।

तिमी जान्ने सुन्ने मनुज चतुरा, हामी बिचरा
चरा साह्रै साना अबुझ वनका केवल किरा।
तथापी श्रद्धाले झुकि विनति गर्छू म सरस
वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि नकस।।८।।

खुला पारी राम्रोसँग नयनको भित्र नयन
बिचारी यी सारा गृह-विभवको चञ्चलपन।
दयालू भै रोऊ मिलिजुलि सबै वान्धवसित
भलो होला जाऊ, रिस नगर रन्केर मसित।।९।।

कुनै पल्टेका छन् मलिन मुख लाई रुखमनि
कुनै रुन्छन् बाटो-बिच नमिलि सानू रुख पनि।
कुनै भोका शोकाकुल मरिरहेछन् नगरमा
हरे ! तिम्रो यस्तो कुन तुजुक यो तुच्छ घरमा।।१०।।

त्यहाँ त्यो शय्यामा गर तिमि खुशीसाथ शयन
यहाँ यो डन्डीमा बसिबसि म चिम्लन्छु नयन।
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
अघी मेरो भन्ने कतिकति गए ती सब गन।।११।।

उघारी त्यो भारी मधुर करुणा-द्वार मनको
गरी रक्षा सारा विकल बिचरा दीन जनको।
यता विश्व-प्रेमी बन। मनुज चोला सफल होस्
उता स्वर्गद्वारा क्षणभर पनी बन्द नरहोस्।।१२।।

तिमीभन्दा लाखौँ गुन अझ धनी मानिस पनि
डुलेका छन् बाबा ! फगत भिखमङ्गासरि बनी।
विधाताको सारा अघट घटना सम्झ मनमा
सबै मेरो मेरो भनि नभुल यो मोह-वनमा।।१३।।

कदाचित् यो तिम्रो भवन चकनाचूर पहिले
हुँदो हो ता हुन्थ्यो कसरि किन यो भेट अहिले।
दया राख्यो भारी सदय विधिले सङ्गत भयो
सुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो।।१४।।

कसै सक्तैनौ यो यदि तिमि भने घच्च सहन
मलाई द्यौ बाबा ! फगत अब यो रात रहन।
म भोली नै जान्छू नृपतिसँग भूकम्प कहन
पखेट छन् सक्छू अझ त नभमा सर्र बहन।।१५।।

गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो
भनेँ मैले भैगो तँ बसि कुहि दे गैह्र घर यो।
पखेटा पैँचो दे बरु म पछि आएर तिरुँला
दयाधारी राजासित सकल मै विन्ति गरुँला।।१६।।


This work is first published on Nepal and is now in the public domain because its copyright protection has expired by virtue of the Copyright Act, 2059 (2002). The work meets one of the following criteria:
  • It is an anonymous work or pseudonymous work and 50 years (before 1 January 1974) have passed since the date of its publication
  • It is a work created on payment of remuneration at the initiation or direction of any person or organization and 50 years (before 1 January 1974) have passed since the date of its publication
  • It is a photographic work or work of applied art and 25 years have passed since the year the work was created (ie. as of 2024, works published prior to 1 January 1999 are considered public domain).
  • It is another kind of work, and 50 years (before 1 January 1974) have passed since the year of death of the author (or last-surviving author)
  • It is a "court judgement or administrative decision"