नमस्कारका उत्तरअाधुनिक अर्थहरू

नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक ( शिक्षक–विद्यार्थी केन्द्रित ) र राजनीतिक अर्थहरु केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थ भन्दा अदृष्टार्थलाई र अभिधार्थ भन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका अर्थहरुलाई यसप्रकार लिन सकिन्छ —

१.शैक्षिक अर्थ नमस्कार शब्द मात्र होइन वाक्य पनि हो । उद्देश्य र विधेय नभएको अथवा कर्ता, कर्म, क्रिया नभएको पदलाई कसरी वाक्य भनिन्छ ? भन्नुहोला, तर बनिन्छ, मजाले बनिन्छ; किनभने उद्देश्य र विधेय यसका गर्भमै छन् । कसैले नमस्कार भन्ने बित्तिकै नमस्कार थाप्ने व्यक्तिले स्वतः कुरा बुझ्छ । किन कर्ता, कर्म, क्रिया नलगाई नमस्कार गरिस् ? भनेर रिसाउँदनैन ।

नमस्कारको सामान्य शाब्दिक अर्थ अभिवादन हो र यसभन्दा बढी अरु पनि हो; तर स्थान, समय, परिस्थिति अनुसार यसका विविध अर्थ हुन सक्छन् । यसका कायिक, वाचिक र मानसिक अर्थहरु सामयिक र पारिस्थितिक हुन्छन् । नमस्कारको एउटा ढिकुटी विद्यालय हो । अर्थगत रूपमा प्रथमिक तह र निम्न माध्यमिक तहका विद्यार्थीहरुको नमस्कार अभिधात्मक हुन्छ भने माध्यमिक तहभन्दा माथि यसको अर्थ अभिधात्मक र व्यञ्जनात्मक दुबै हुन्छ, तर तुलनात्मक रूपमा व्यञ्जनात्मक अर्थ बोकेको नमस्कारको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ । सबै विद्यार्थी चाहिँ होइन अधिकांश विद्यार्थीहरु र तिनका अभिभावकहरु परीक्षा सुरु हुनुभन्दा केही दिन अघिदेखि दिनमा जतिपल्ट भेट्यो त्यतिपल्ट लामो लेघ्रो तानेर न म स् का र्र्र्र ‘‘सर ! भन्छन् । यो नमस्कार अलिक लद्दुलद्दु खालका विद्यार्थी र तिनका अभिभावकको हो । अब यहाँ नमस्कार को अर्थ अभिवादन नभएर विद्यार्थी पास गराइदिनू भन्ने लागेको छ । परीक्षा भएको केही दिनपछि नतिजा प्रकाशित हुन्छ, त्यसपछि पर्छ पढाउने शिक्षकलाई महाको फसाद । फेल हुने विद्यार्थी र तिनका अभिभावकहरुबाट पाएको नमस्कार शिक्षकले पचास प्रतिशत ब्याज लगाएर फिर्ता गर्नुपर्छ । अझ फेल हुने कुन्डले, मुन्द्रे, झ्याम्ले, खोयाबिर्के आदिले साइकल कुदाएकै बेला नमस्कार्र्ꜛ भने भने त्यो झन् खतरा हो । यसको अर्थ खबरदार !!! अब तँ मास्टरहरुलाई खतरा छ भन्ने हुन्छ भने यही वर्गका छात्राहरुले गरेको नमस्कारको अर्थ अर्कै हुन्छ । उनीहरुको नमस्कारबाट मरीजा ! तेरो किरीया परोस् ! मास्टर भनाउँदा भुणे मोरा !!! भन्ने अर्थ ध्वनित हुन्छ ।

यति मात्र कहाँ हो र । पास हुने विद्यार्थी र अभिभावक पनि नमस्कार गर्नुपर्छ भनेर अर्कापटि फर्केर हिड्छन् । कथं जम्काभेट भइहाल्यो भने पनि नमस्कार्ꜛ भन्छन् आरोही स्वरमा । आरोही स्वरमा नमस्कार गर्नुको अर्थ अँ हामी आफैं पास भएका होइनौ, यहाँ हजुरले चैं पास गराइदिएको होला ! भन्ने हुन्छ । सबै विद्यार्थीमा यही कुरा लागू हुन्छ भन्ने छैन । पास हुने होस् या फेल हुने कुनैकुनै विद्यार्थी त सारै ज्ञानी हुन्छन् । यस किसिममका विद्यार्थीको नमस्कारमा कुनै किसिमको पूर्वाग्रही अर्थ ध्वनित भएको पाइदैन ।

प्राथमिक र निम्नमाध्यमिक तहका विद्यार्थीहरुको नमस्कार निश्छल एवं स्वच्छ हुन्छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ तापनि मेरो एउटा सानो पूर्वानुभवले सो निश्छलताको पुष्टि गर्ने छ । आजभन्दा ३८/३९वर्ष अघिको कुरा हो, त्यसबेला अहिलेको कनकाई उच्च मावि, कनकाई निमावि थियो । प्र अ म स्वयम् थिएँ । सुरुङ्गा बजारमा २/४ घर मात्र थिए । वजार पश्चिम बाक्लो जङ्गल थियो । त्यसबेला सो जङ्गलले चर्पीको काम पनि गरेको थियो । कुनै एक बिहानको घटना हो सधैंझैं म दिसा बस्न जङ्गल गएँ र अगाडि पानीको लोहोटा राखेर के बसेको मात्र थिएँ, नमस्कारको मसिनो आबाज आयो कानमा । त्यस्तो जङ्गलभित्र कसले, कहाँ, कसलाई नमस्कार गरेको आबाज आउँदैछ ! म छक्क परेँ । फोनको घण्टी बजेजस्तै गरी लगातार नमस्कारको आबाज आइरहेको थियो । आफनो दाहिनेतिर हेरेँ कोही थिएन, अगाडि हेरें कोही थिएन, देबे्रतिर हेरें कोही थिएन । ए बाबा कस्ले यसरी नमस्कार गर्दैछ भनेर यसो पछाडि मुन्टो फर्काएर हेरेको त सात कक्षामा पढ्ने आफ्नै विद्यार्थी मिल्ट्रीको सतर्क अवस्थामा उभिएर दुबै हात जोडेर मेरो दयनीय अवस्थालाई अभिवादन गर्दै रहेछ । मेरो सातोपुत्लो उड्यो । डरले होइन, अर्थोकै केले हो केले । दिसाले आफनो दिशा बदल्यो, फर्क्यो आफ्नै जन्मघरतिर । मैले त्यस निर्दोष विद्यार्थीको नमस्कार नफर्काइकन कुलेलम ठोकें । त्यो मेरो विवशता थियो; तर निकैबेरसम्म पनि त्यही ठाऊँबाट नमस्कारको आबाज आइरहेको थियो तापनि नमस्कार फर्काउन नसकेकोमा पछुतो गर्नु बाहेक मेरो कुनै उपाय थिएन । त्यसको भोलिपल्ट म विद्यालय जान सकिन, बिदा लिएँ र सोही दिन जङ्गलमा खाडल खने, झिक्राले बारें र बेलुका ढुक्कले अघिल्लो दिनको बाँकी कामसमेत खप्टिएर एकैचोटि पुरा गरें । वास्तविक विद्यार्थीको नमस्कार कतिसम्म शक्तिशाली हुँदो रहेछ भन्ने कुरा यसबाट अनुमान गर्न सकिन्छ ।

२. राजनीतिक अर्थ ः नेताले जनतालाई गर्ने नमस्कार र जनताले नेतालाई गर्ने नमस्कारमा पनि अर्थतात्विक भिन्नता रहेको हुन्छ । विशेष गरी भोट माग्ने नेताहरु भोट हुनुअघि प्रत्येक भोटदाताका घरघरमा नमस्कार भन्दै हिंड्छन् दसै औंला जोडेर । दस औंला जोडेर नमस्कार गर्ने पनि आआफ्नै किसिमका कला हुन्छन् । मेरा एकजना अभिन्न मित्र नमस्कारका ठाउँमा नारायन नारायन भन्नुहुन्छ सधैं । हामी त्यसको अर्थ बुझेर नमस्कार भन्छौं । उहालेँ नाइटालाई बीच पारेर दुई हात जोडे पनि त्यसको अर्थ नमस्कार नै हुन्छ; तर भोट माग्ने नेताले दस औंला जोडेर गरेको नमस्कार र मेरा मित्रले दस औंला जोडेर गरेको नमस्कारमा आकाश र पातालको फरक छ । निहुर्मुन्टी न भएर दुई हात निधारमाथि राखी नमस्कार !!! भन्न थालेपछि नेता एकोहोरो हुँदा रहेछन् । यो दृश्य सारै हेर्न लायक हुन्छ । एकपटक एकजना निकै नाम चलेका नेताले भोट माग्ने क्रममा गौ मातासँग पिरती गाँस्तै गरेका शिववाहनलाई पनि एक नमस्कार ठोकेछन् । आफ्नो नाम मतदाता सूचीमा नभए पनि भोट माग्यो भनेर हो या अन्य कुनै कारणबाट हो शिववाहनले गौमातालाई यसो कोट्याएर आकाशतिर हेरी एक खित्का छोडेछन् । यस्तै छ नेताको नमस्कार गराइ ।

नेताले गरेको नमस्कारको वास्तविक अर्थ मतदातालाई त्यतिबेर थाहा नभए पनि माथि गएर मन्त्री भइसकेपछि थाहा हुन्छ । उनीहरु आफ्ना टाउकामा हात राखेर नेताले गरेको नमस्कारको यस किसिमको वर्णपरक भित्री अर्थ थाहा पाउँछन् -

न=नमस्कार 

म=मलाई भोट दिएर माथि पठाउनु भयो भने स्= सत्ते, गाईको मुत खाने होला का= काठमाडौंमा बसी लाखौको कार चढेर र= राष्ट्रको ढिकुटी रित्याएर भए पनि तपईंहरुको चिल्लै सेवा गर्नेछु ।

उपर्युक्त अर्थका अतिरिक्त अरू पनि धेरै व्यञ्जनात्मक अर्थ हुन सक्छन् नेताजीका नमस्कारमा । भोट जितेर मन्त्री भएपछि हिउँदमा धुले पुल र बर्खामा हिले पुल बनाइदिने प्रतिज्ञालाई पनि नमस्कारकै अर्थमा लिन सकिन्छ । यी त भए भोट हुनुभन्दा अघि गरिएका नमस्कारका अर्थ । भोट जितेपछि र मन्त्री भएपछि नमस्कार गर्ने पालो आउँछ मतदाताको । बिचरा निरीह मतदाताले भित्री हृदयदेखि गरेको नमस्कार खोलाको गीत हुन्छ । मन्त्रीक्वाटर र मन्त्रालयभित्र नमस्कार छिर्न पाउँदैन भने कारभित्र नमस्कार सुनिदैन । नेता/मन्त्रीले जनताको नमस्कार फर्काइहाले भने पनि त्यस नम्मस्कारको अर्थ यस्तो हुन्छ— न= नमस्कार गर्या होला म= म, मेरो परिबार र मेरा चम्चेसमेत म= मर्सिडिज कार, मन्त्री क्वाटर र स्= सिंहदरबारभित्र बस्याबेला का= कान पटक्कै सुन्दिन अनि र= रतन्धो र दिनान्धो पनि भएको छु ।

नेताले गरेको नमस्कारमा वर्णाक्षरात्मक अर्थ मात्र नलागेर शब्दवाक्यात्मक अर्थ पनि लाग्न सक्छ विद्यार्थी र अभिभावकले गरेको नमस्कारमा जस्तै । कुनैकुनै नेता वा मन्त्रीले मात्र अभर पर्दा नमस्कार फर्काउँछन्; तर सो नमस्कारको उच्चारण उर्ध्व अनुत्तानमा गरिएको हुन्छ । यस किसिमबाट गरिएको नमस्कार्र्ꜛको ध्वन्यार्थ हुन्छ - हामीले भोट दिएर जिताएका थियौं, अब हाम्रो क्षेत्रलाई सहयोग गर्नुपर्यो भनेर सहयोग माग्न आएका हौ भने जुन बाटो आएका थियौ खुरुक्क त्यही बाटो लाग । नत्र मेरो बडी गार्डले मुन्ट्याएर चारभन्ज्याङ कटाइदिन्छ, थाहा छ ? अब त सहयोगको कुरा सिब ! आफूलाई त पुग्या छैन ! ! !

स्राेत - काेमलप्रसाद पाेखरेल
सहप्राध्यापक, कनकार्इ बहुमुखी क्याम्पस
सुरुङ्गा, झापा, नेपाल