नव युवक
कवि परिचय
editनवयुवक कविता नेपालका राष्ट्रकवि श्रीमाधव प्रसाद घिमिरेले रच्नुभएको हो। परिष्कृत शिल्प र स्वच्छन्द भाव प्रयोग गरी कविता रच्नुहुने घिमिरेले यस कवितामा युवावस्थाको सुन्दर वर्णन गर्नुका साथै युवाहरूलाई कर्मशील हुन प्रेरणा दिनुभएको छ।
लय विधान
editमन्दाक्रान्ता नामक वर्णमात्रिक छन्दमा कविता कुँदिएको छ। प्रत्येक पाउमा १७ अक्षर हुने उक्त छन्दमा चौथो र १०औं अक्षरमा विश्राम हुन्छ।
मूल पाठ
editनवयुवक
जूँघारेखी भरखर बसी मुस्कुराइरहेको।
को होला त्यो कुन लहडमा गीत गाईरहेको।।
त्यो हो हाम्रै तरुण-वयको याद आइरहेको।
डाकी नौला दिनहरु नयाँ गीत गाईरहेको।।
(१)
तिम्रा लामा सबल भुज छन् शैल बोक्लान् समान।
छाती तिम्रो दृढतर छ त्यो वज्र रोक्लान् समान।।
तिम्रै कन्धाउपर युगको भार राखीदिउँ कि!
मागी तिम्रै हृदय म पनि बैँसमा फक्रिऊँ कि!!
(२)
डाँडा काँडा वन चहुरमा घाम लागीरहेछ।
लाखौँ लाखौँ सुख र दु:खमा लोक लागीरहेछ।।
छि: यो बेला नबस घरमा निस्क आलस्य फाली।
हे तन्नेरी उठ न पृथिवी तीन बित्ता उचाली।।
(३)
घेर्छन् छायाँ जब विपतका दूरमा गर्जिएर।
छिप्छन् मान्छे जब घरघरै त्रासमा तर्सिएर।।
त्यो बेला हे युवक! खतरा खोज्नका निम्ति निस्क।
आँधीबेरीसित जुध तिमी कालका साथ जिस्क।।
(४)
अग्ला सिंहासनहरु हिले क्रूर अन्याय काँपे।
सामन्तीका खँडहरमहाँ क्रान्तिका दूत नाचे।।
काला धब्बा रगतहरुका खुर्किए स्वार्थ हारे।
गर्जी गर्जी जब युवकले ज्यानको आश मारे।।
(५)
सुन्गाभाका कुसुम वनमा आज वैशाख उन्छिन्।
छाँया ढालीकन विरहमा आज आषाढ रुन्छिन्।।
बाली ज्योत्स्ना शरद रजनी पर्सि पर्खीरहन्छिन्।
यौटी बाला तनमन तिमीलाई अर्पीरहन्छिन्।।
(६)
यो छायांँमा प्रणयसुखमा गाउने छैन बेला।
हेर्छन् हाम्रै मुखतिर पुछी आँसु चीसा परेला।।
यी हारेका हृदयहरुले उन्दछन् अश्रुहार।
गर्छिन् फुस्रो शिशिर ऋतुमा मृत्यु हाम्रो पियार।।
(७)
हावा लागी शिशिर ऋतुका पात काँप्छन् पुराना।
डाकी क्वैली कुसुम-वनमा बोल्छ नौलो जमाना।।
नौला नौला लहरहरुमा जिन्दगी हेर चढ्छ।
हाँक्छन् लाखौँ युवकहरुले हेर--संसार बढ्छ!!
(८)
यो छायाँमा जब युवतिले गीत क्यै गाउँदिनन्।
यो बाटोमा जब युवकले जीत क्यै ल्याउँदैनन्।।
डाकी क्वैली अनि वनवनै बोल्न छोड्ला वसन्त।
निभ्लान् तारा ग्रहहरु त्यहीँ सृष्टिको हुन्छ अन्त्य।।
(९)
पैलो झुल्कासरी हिमचुली देशको टाकुरामा।
नौलो बान्की बलसरि वीरका पाखुरामा।।
बोकी आउ नवकिरणको वाण है नौजवान।
छोइदेउ नवलहरले विश्वको प्राण प्राण।।
(१०)