कवि परिचय edit

युगकवि श्रीसिद्धि चरण श्रेष्ठले नेपाल कविता रचना गर्नुभएको हो।कवि श्रेष्ठका प्रशस्त कविताहरुमा प्रगतिवादी र राष्ट्रवादी स्वरहरु अकासिएका पाउन सकिन्छ।नेपाल कवितामा कवि महोदयले आफ्नो देशको महिमा वर्णन गर्दै राष्ट्रगौरव र मुलुकप्रेमको भाव पोख्नुभएको छ।

लय विधान edit

उपजाति नामक वर्णमात्रिक छन्दमा कविता लेखिएको छ।यस छन्दअन्तर्गत पनि इन्द्रवज्रा र उपेन्द्रवज्रा गरी दुईवटा छन्द पर्दछन्।पाउको पहिलो अक्षर दीर्घ स्वर भए इन्द्रवज्रा र त्यो ह्रस्व स्वर भए उपेन्द्रवज्रा हुन्छ भनी बुझ्दा हुन्छ।प्रत्येक पाउमा ११ अक्षर हुन्छन् र चौथो अक्षरमा लघुविश्राम लिनुपर्दछ।

मूल पाठ edit

           नेपाल

नेपाल प्यारो र पवित्र देश।
सौन्दर्य धारा बहने अशेष।।
सङ्गीतको मूल फुटी विशाल।
छल्कीरहेझैँ लयबद्ध ताल।।
(१)

पाना खुला पर्वत पत्रपत्र।
छन् वर्णझैँ वृक्ष लता विचित्र।।
खोला चराको ध्वनि गुह्य मन्त्र।
नेपाल सिङ्गै बहुमूल्य तन्त्र।।
(२)

नयाँ नयाँ जीत अनेक जोड्दै।
यो देशको इज्जतमान थप्दै।।
ज्यामी सिपाही र किसान सारा।
छन् आज हाम्रा बलिया सहारा।।
(३)

यो देशको सिर्जनको निमित्त।
पुर्खाहरुको पसिना र रक्त।।
हाम्रो बहेको छ नसा नसामा।
डोर्‍याउँदै स्वर्ग छुने दिशामा।।
(४)

विपत्ति पर्दा पनि हाँसी हाँसी।
तयार भै चढ्न समेत फाँसी।।
बाँचे बचाए र रमे रमाए।
सङ्घर्षले यो मुलुकै जगाए।।
(५)