ऋतु विचार/01
हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो।
उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो।।1।।
नामशेष भयो सारा पुरानू शिशिरस्थिति।
लियो वसन्तले अर्कै नयाँ गौरवपद्धति।।2।।
ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतुराज हो।
लोक गौरवले भर्नु यसैको मुख्य काज हो।।3।।
वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण।
तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण।।4।।
देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतुराजको।
दयादण्डज्ञ राजाको नीति झैँ राजकाजको।।5।।
पशुपक्षी लतावृक्षलगायत चराचर।
ऋतुनायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर।।6।।
सेतो कमलको छाता मञ्जरीमय चामर।
ऋतुराजत्वका चिह्न देखिन्छन् अति सुन्दर।।7।।
भुमराहरु वीणाको दिव्य झङ्कार गर्दछन्।
गुणगायक भै पक्षी गानमा तान भर्दछन्।।8।।
बर्र बर्र लतावृक्ष लावा झैं फूल छर्दछन्।
पुतली नर्तकीतुल्य नाचदै अघि सर्दछन्।।9।।
मलयाऽचलको वायु लगातार सिरीसिरी।
कलिला पालुवारूप पङ्खा हम्कन्छ सुस्तरी।।10।।
सजायेको छ सर्वत्र दिव्य सौन्दर्यको रथ।
शान्तिको जल छर्केको खुला आनन्दको पथ।।11।।
सारा वन बगैंचामा सजायेको छ आसन।
ऋतुराज उतैबाट गर्छ त्यो शुभशासन।।12।।
दिव्य आनन्दको रङ्ग, दिव्यकान्तितरङ्ग छ।
दिव्य उन्नतिको ढङ्ग, दिव्य सारा प्रसङ्ग छ।।13।।
त्यो दिव्य रङ्ग पायेका लतावृक्ष वनस्पति।
देखिन्छन् योग्य नेताका रैती झैं उन्नताऽऽकृति।।14।।
सानातिना सबैमाथि फैलियेको छ गौरव।
योग्यको आड पायेको बिग्रला को कहाँ कब?।।15।।
पर्दा वसन्तको दिव्य प्रभाव पृथिवी सब।
विवेक ज्योतिले शुद्ध विद्यातुल्य बनिन् अब।।16।।
हजारौंमुख भै निस्के लतावृक्षाऽऽदि हालमा।
लयाऽवस्था बितायेका जीव झैं सृष्टिकालमा।।17।।
आँकुरा, पिपिरा, साना, काइना, चिउला, टुसा।
निस्के झपक्क सर्वत्र साह्रै कलकलाउँदा।।18।।
समाते सूर्यले फेरि उत्तराऽऽकाशको गति।
प्रतापीको सदाकाल किन हुन्थ्यो अधोगति?।।19।।
दिनमा दीर्घता आयो रातले लघुता लियो।
ऋतुराजत्वको सच्चा योग्यता स्पष्ट देखियो।।20।।
दीपका बीचमा मैला धूवाँ झैं गुप्त भैकन।
अलिअलि चढेको छ दिनमा धमिलोपन।।21।।
जुन जीवनको भाग रातको दिनमा सर्यो।
उसैले दिनको कान्ति पक्का केही फिका गर्यो।।22।।
ऋतुनायकले घाम मन्दै गर्ने लिई सुर।
तुवाँलोको मिही पर्दा लगायो कि सबैतिर।।23।।
अलिअलि तुवाँलोले छोपियेका दिगङ्गना।
देखिन्छन् प्रमदातुल्य लज्जाले विनताऽऽनन।।24।।
पृथिवी छन् शुगारङ्गी पिपिराहरुले गरी।
हरियो रेशमी सारी लायेकी प्रमदासरी।।25।।
वनमा वागमा राम्रा पुष्प लाखौं थरी फुले।
कुसुमाऽऽकर यो नाम सार्थ पार्यो वसन्तले।।26।।
आफनू शिल्पसौन्दर्यमहिमाको प्रदर्शिनी।
खोलिन् प्रकृतिले लाखौं फूलमा मनमोहिनी।।27।।
प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ।
तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ।।28।।
बेली, जाई, जुही, चम्पा, चमेली, मधुमाधवी।
सबैमा भरियेको छ भरिलो मोहिनी छवि।।29।।
पुन्नाग, कामिनी, कीप, कल्की, बकुल, मालती।
साराको भिन्न भिन्नै छ वासना रूप आकृति।।30।।
बेगिन्ती पुष्पका भेद बेगिन्ती रूप वासना।
एकै प्रवाहमा चल्छन् धन्य हो विधिकल्पना।।31।।
पृथ्वीको दिव्य सौन्दर्य नअटायेर पट्ट भै।
फुटी बाहिर निस्क्यो कि पुष्पका रूपमा सबै?।।32।।
तस्तै सुवासनापूर्ण पुष्पको तुल्य जीवनी।
सृष्टिसौन्दर्यका निम्ति चाहन्छन् देवता पनि।।33।।
कोही चहकिला पुष्प वासना नभये पनि।
मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा धनी।।34।।
बगैंचा सब देखिन्छ हजारौं फूलले गरी।
वसन्तको बुटे तन्ना कसेको बैठकैसरी।।35।।
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल।
वसन्तश्री बसेकी छन् बनी सौन्दर्यविह्वल।।36।।
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहो।।37।।
रसिला फूलमा आई रसिलो दक्खिना हवा।
कुन कारणले होला बिस्तारै गर्छ वाहः वा।।38।।
साना छुनुमुनू गर्ने बाल झैं कलिला फुल।
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल।।39।।
बिस्तारै फूलका साथ खेली खेली मिलीजुली।
सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा छली।।40।।
देखेर आफनै जस्तो पुष्पको रूपगौरव।
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब।।41।।
फक्रेका फूल दाता झैं रसधारा लुटाउँछन्।
झोलामा भिक्षु झैं मौरी पालामा त्यो जुटाउँछन्।।42।।
काव्यका रसमा लोभी कवि झैं लट्ठ भैकन।
प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन।।43।।
आनन्दी पुष्पमा कालो दुःखरेखासमानको।
तुच्छ त्यो भ्रमरश्रेणी के होला पात्र मानको?।।44।।
गुणीका गुण झैं सारा रसधारा चुमीकन।
भूँभूँ गरी उडीदिन्छ स्वार्थी भ्रमरको गण।।45।।
रसवेतनका लोभी यद्वा भ्रमरशिक्षक।
आफनू जीविका गर्छन् पढाई पुष्पबालक।।46।।
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल।
भुमराको उही हुन्न के होला कुनको भुल।।47।।
गुलाफको लगायेर विधिले लालमोहर।
दियेको हो कि वा बाग भृङ्गकै भोगखातिर?।।48।।
भृङ्गले रस रित्त्याई चुसेर पुष्पवाटिका।
देखिन्छ वैरिविध्वस्त निर्धो देशसरी फिका।।49।।
चीसो दक्षिणको हावा बहनाले सिरीसिरी।
लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी।।50।।
तालका सुरमा कोही सिपालू नटको सरी।
पुष्प पल्लवको निस्क्यो हावामा नृत्यमाधुरी।।51।।
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्सरी।।52।।
हावाको चालमा सारा पराग गगनैभरी।
फैलिँदो छ कविद्वारा वीरको वीरतासरी।।53।।
परागै हो कि? त्यो माथि तुवाँलाको स्वरूपमा।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा।।54।।
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी।
झल्कन्छ वनमा मानू सुनको तपकैसरी।।55।।
वसन्तले बुनी आफैं मिही पल्लव चादर।
माथमा वनदेवीको चढायो कि मनोहर?।।56।।
प्रत्येक वृक्षमा निस्क्यो पुष्पपल्लवमाधुरी।
संसार जीवको रागी वासना झैं थरीथरी।।57।।
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक।।58।।
कुनै राता, कुनै सेता, पहेंला भावका कुनै।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै।।59।।
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरैसरी।
देखिन्छ माझमा राम्रो तलके तिलकैसरी।।60।।
बडो विशाल गम्भीर नील आकाश झैं वन।
झल्कन्छन् फूलका गुच्छा तारकातुल्य शोभन।।61।।
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो।
बल विद्या गुमायेको भारतैतुल्य देखियो।।62।।
लताजञ्जालले ज्यादा जकडेका कुनै रुख।
पापका बोझले ग्रस्त पापी झैं छन् अधोमुख।।63।।
लर्काई सुनगाभाको पुष्पहार कुनै रुख।
विलासी झैं डटेका छन् देखाई हँसिलो मुख।।64।।
साना ऐसेलुका दाना टिपदा ती टपाटप।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप।।65।।
निस्के नयाँ नयाँ लाखौं वृक्षमा मञ्जु मञ्जरी।
रसिला प्रतिभाशाली कविका कवितासरी।।66।।
ऋषि झैं गरदै शुद्ध मञ्जरीमय भोजन।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन।।67।।
माधुर्यसिन्धुको यौटा उर्लंदो लहरीमय।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय।।68।।
अदना त्यो चरीलाई त्यो स्वर्गीय सरीगम।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम।।69।।
स्वर माधुर्यको तेस्तो किन्नरैतुल्य कोइली।
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली।।70।।
कोकिलस्वर त्यो सुन्दा संयमीहरुको पनि।
डग्मगाउन चाहन्छ समाधिमय जीवनी।।71।।
कोइलीको कुहूकार सुन्यो राती जती जती।
उती उती नयाँ लाग्छ यो सारा सृष्टिपद्धति।।72।।
कोइली कागको भेद बोलीबाटै खुल्यो सब।
मौकामा गुण जाहेर नभई रहला कब?।।73।।
अघिका वेदविज्ञाता ऋषिको झैं मनोहर।
लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर।।74।।
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी।
शब्दसौन्दर्यभण्डार खोली बोल्छन् थरीथरी।।75।।
पुष्पपल्लवका साथै पक्षीको मोद मङ्गल।
जुटनाले खुलेको छ नन्दनैतुल्य जङ्गल।।76।।
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी।
धोबिनी सब देखिन्छन् उडने रागिनीसरी।।77।।
मोहिनी तिनको बोली, मोहिनी भावभङ्गि छ।
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ।।78।।
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव?।।79।।
गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको।।80।।
त्यो चरीका चुचाबाट निस्केको शब्दमाधुरी।
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी।।81।।
बोलने उडने लाखौं खिलौना काखमा धरी।
पालुवामा वसन्तश्री खेल खेल्छिन् थरीथरी।।82।।
हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी छवि।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि।।83।।
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन्।
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन्।।84।।
पवित्र प्रेमगङ्गामा गर्दै नित्य निमज्जन।
थाले हरिणका झाँक हरिणीसित खेलन।।85।।
पशुपक्षी, लतावृक्ष सबैको भित्र लक्ष्यमा।
झल्कीरहेछ आनन्दी प्रेमसौन्दर्यपूर्णिमा।।86।।
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन।
मायाचेतन झैं थाले गुण कृत्य जमाउन।।87।।
पालुवा फूल झैं राम्रा हलुका कपडाकन।
पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन।।88।।
कसैको अब जाँदैन भद्दा कन्थाविषे मन।
कालाऽनुगारी सारज्ञ कवि झैं छन् सबै जन।।89।।
दबाई जेबमा चम्पा लागे रसिक घूमन।
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता बनीकन।।90।।
वियोगी पान्थका आगे रसिलो ऋतुनायक।
भयो भारतका लेखा कलि झैं दुःखदायक।।91।।
कर्याङ्कुरुङको पङ्क्ति एकतामा जमीकन।
सभ्य संसार झैं थाल्यो उत्तरोत्तर लम्कन।।92।।
त्यो मानू मधुलक्ष्मीका माथको भृङ्गगुञ्जित।
नीलपङ्कजमाला झैं देखिन्छ क्षणलम्बित।।93।।
बेसी हिउँदमा झर्छ वर्षामा लेख पस्तछ।
पहाडिया गृहस्थी झैं क्रौञ्चको श्रेणि बस्तछ।।94।।
गाम, बेसी गरी लम्बा बिचरा ती चरा सब।
जीवनक्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव।।95।।
तडागमा खडा फेरि भयो कमलको वन।
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन?।।96।।
नागले ऋतुसौन्दर्य हेर्नलाई उँभोतिर।
पानीबाट निकाले कि पद्मका रूपमा शिर?।।97।।
लक्ष्मीको वास त्यो खास देखी कमल पुष्पित।
भुन्न भुन्न गरी हर्दम् घुम्न थाले मधुव्रत।।98।।
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिति।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति।।99।।
संसार नाट्यशालाका छपर्दामध्य वास्तव।
ज्यादा वसन्तपर्दामा खुशी छ जगतै सब।।100।।
बहुत कम हुनाले काव्यको भङ्गिभाव
अलिकति मलिनै भो यो वसन्त प्रभाव।
भनिकन पहिले नै केही सङ्कोचसाथ
बुधजनसँग बिन्ती गर्छ यो लेखनाथ।।101।।