ऋतु विचार/02
लेखी देखेबुझेसम्म वसन्तमहिमा सब।
कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब।।1।।
राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो।।2।।
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब।
देखायेर पराकाष्ठा उत्थानक्रमको सब।।3।।
प्रतापीको प्रतापाऽग्निशिखा जस्ता कडा दिन।
दबाई जगतैलाई अब थाले खडा हुन।।4।।
शकेसम्म करद्वारा पृथ्वीको रस खींचन।
अविवेकी विजेता झैं सूर्य लागीरहेछन।।5।।
धपक्क भै बलेका छन् घामले दिन बेसरी।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियैसरी।।6।।
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया।
सूर्यले गर्न आँटे कि विश्वगोल छियाछिया?।।7।।
विषले मत्मतायेका काला काला भुजङ्गको।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको।।8।।
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन।
ज्वालाजाल निकालेर बलने हो कि दन्दन?।।9।।
त्यो नीलभाग माथिल्लो सारा विश्वकटाहको।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको?।।10।।
संसारभर ठण्डीको नामै छैन कतैतिर।
जता जाऊ उतै खाली गरमीको कडा पिर।।11।।
घामको नाम पारेर कालले अति उत्कट।
आफना लयलीलाको देखायो चम्चमावट।।12।।
गरमीको कडा मुस्लो सल्कायेर सबैतिर।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर?।।13।।
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल।
सन्तको सङ्ग झैं यौटावृक्षच्छाया छ शीतल।।14।।
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि।
आडमा योग्य नेताको दुनियाँ झैं सुखी बनी।।15।।
जल शुक्तै गयो सारा पृथ्वीबाट घरीघरी।
कराल कलिले गर्दा धर्मको महिमासरी।।16।।
सानातिना नदीनाला नामशेष बने सब।
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब?।।17।।
देखिन्छ उनमा तातो बलौटे अब केवल।
विरसी मूर्खको क्रूर चित्त झैं धर्मसङ्कुल।।18।।
बालुवा टेकनासाथ पैतालाकन पोल्दछ।
पादप्रहारको मानू जवाफै स्पष्ट बोल्दछ।।19।।
टाढा टिलपिलायेको जल जस्तै मनोहर।
मसिना बालुवामाथि झल्कन्छन् सूर्यका कर।।20।।
विशाल मृगतृष्णा त्यो झल्कँदा दूर चम्चम।
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको भ्रम।।21।।
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव धर्दछ।
पानीका भानले कोही दौडँदै अगि सर्दछ।।22।।
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल।
झल्कन्छ आँशुका साथै कठै दुर्भाग्यको छल।।23।।
घामैको डरले हो कि? ठूला नदनदी सब।
लुकाई लहरीनृत्य खस्के तलतलै अब।।24।।
श्वासप्रश्वासका मात्र दिँदै दुःखित सूचन।
गर्छन् पहाडिया खोला डण्डूरैभित्र हुन्हुन।।25।।
नष्ट भो घामले गर्दा हवाको शीतलोपन।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन?।।26।।
बतास चल्दैचल्दैन चलिहाल्यो भने पनि।
उष्णताले शकेसम्म बलेको हुन्छ दन्दनी।।27।।
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन।
पसीनारूपमा मस्ती गलायो लोकको किन?।।28।।
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम।
घन्क्यो घनक्क सर्वत्र घामको जयहिण्डिम।।29।।
बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति।
निस्कँदैन कतै कोही माखोतक सितीमिती।।30।।
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा।
देहभन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा।।31।।
मणिमन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव।
छट्टपट्ट गरी बस्छ गर्मीले जगतै सब।।32।।
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल?।।33।।
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन।।34।।
पृथिवीभर गर्मीको प्रवाहकन जाँचने।
कुलातुल्य ठुला रस्ता ताता भत्भति पोलने।।35।।
ताता सडकका ताता पसिनाकन खल्खली।
चुहाई चल्दछन् पान्थ कष्टसाथ गली गली।।36।।
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख।
पियारो मित्र झैं लाग्छ त्यो बेला मार्गको रुख।।37।।
देखिन्छ पसिनापूर्ण पान्थको मुख त्यो घरी।
रातो चुर्लुम्म पानीमा बुडेको कमलैसरी।।38।।
बिचरा बीच बाटाको जलशून्य कुवाकन।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन।।39।।
प्यासका साथमा श्वास श्वाससाथै निराशता।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता।।40।।
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल।
जब पायो अनी आयो नवीन बलमङ्गल।।41।।
त्यो बेला त्यो सुधातुल्य पियेर जल कल्कली।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि।।42।।
आमासमानकी निद्रा तत्कालै झप्प आउँछे।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे।।43।।
बिउँझ्यो मृत्तिमूर्छाको अन्त्यमा बासनासरी।
धूमधाम उही घाम, उही बाटो कठैबरी।।44।।
दुःखीका दुःखको याद दैवका मनमा भये।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये।।45।।
भीष्मसन्तापले पूर्ण शकुनिध्वनिसङ्कुल।
कृष्णकादम्बिनीशून्य जुवा झैं छ नभस्तल।।46।।
कराउँदै घुमेको छ काकाकूल घरीघरी।
कान्ता खोजन निस्केको पान्थको प्राण झैं गरी।।47।।
मेघमार्ग घुमी सारा नपाई मेघदर्शन।
त्यो मेघभक्त लाग्यो कि मेघमह्लार गाउन?।।48।।
अथवा त्यो गई माथि विधातासँग शोकको।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको?।।49।।
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर।
पानीखातिर त्यो मानी लम्कँदो छ उँभोतिर।।50।।
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी।
घुमी आकाशगङ्गाको गर्छ त्यो उग्र खोजनी।।51।।
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभोतिर?।।52।।
जलाशयहरूनेर तुच्छ जीवनखातिर।
मरे पनि झुकायेन धीर चातकले शिर।।53।।
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि।
नौनीसमान पग्लन्छ छाती पत्थरको पनि।।54।।
त्यो मानी पक्षीको तेस्तो त्यो पानीव्रत धन्य छ।
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ।।55।।
अरू सानातिना पक्षी वनको भित्रभित्र छन्।
रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन्।।56।।
बिचरा ती चरालाई न चाराको उमङ्ग छ।
न कुनै वन्यलीलाको भावभङ्गितरङ्ग छ।।57।।
ज्वालाजाल फिँजारेको खडेरीरूप दानव।
देखी डरी डरी दप्के किन्नरी झैं चरी सब।।58।।
वैलाये घामले राम्रा भरिला पुष्पपल्लव।
दारिद्र्यले डढायेका दुःखी झैं गतगौरव।।59।।
माथि माथि सबैतर्फ फर्र फाली भुवाकन।
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन?।।60।।
विद्वेषको विशेषज्ञ धीरको मनमा सरी।
प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी।।61।।
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब।
तापाऽऽर्त पशुपक्षीका विश्रामस्थान छन् अब।।62।।
असह्य तापका मारे हिजो आज सबै जन।
नैष्कर्म्यसिद्ध योगी झैं घुम्न थाले वनैवन।।63।।
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा।
व्यग्र देखिन्छ अत्यन्त विलासीवृन्द हालमा।।64।।
खेतमा खेतिवालाका रमणीजन हालमा।
पैह्रन्छन् पसिनारूप मुक्ताऽऽभूषण भालमा।।65।।
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग।
एकदेशीयका हुन्छ दुःखैमा ऐक्य सम्भव।।66।।
पहिले वन गर्मीले उसिनेको समान छ।
डढेलो उसमा फेरि दुःखको के बयान छ?।।67।।
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन।
कुरुवंशीसरी थाल्यो वंशश्रेणी विनाशिन।।68।।
वेगसाथ बढेको छ डढेलो वनमा अति।
हिन्दूमा सर्वसंहारी फूट झैं भीषणाऽऽकृति।।69।।
उताबाट उता सल्क्यो उताबाट उतातिर।
गर्दै चटचटाऽऽकार छोपिहाल्यो सबैतिर।।70।।
डढेलाले निल्यो झट्टै झार, पात दुवैथरी।
कर्मसञ्चित, आगामी विज्ञानज्योतिषैसरी।।71।।
ठूला फेदविषे आगो सल्केका वृक्ष हुन् जुन।
उनी प्रारब्ध झैं थाले सुस्तसुस्तै बिलाउन।।72।।
तातो लपलपायेको रातो जिभ्रो झिकीकन।
कराल काल लाग्यो कि लपक्कै लोक चाटन?।।73।।
स्याँस्याँ गरी निकालेका जिभ्रो जस्ता बडा तिखा।
देखिन्छन् टोडकाबाट वृक्षमा अग्निका शिखा।।74।।
रुन्छन् कठै कुनै वृक्ष ठाडै चीँ चीँ गरी गरी।
रसरूप सफा आँशु चुहाईकन बर्बरी।।75।।
घरी झार, घरी पात, घरी वृक्ष, घरी लता।
भस्म पारी डढेलाले उडायो वनको पता।।76।।
आगाका डाहले माथि उठेका बिचरी चरी।
डढेलामा गिरे फेरि घामका तापले गरी।।77।।
राती पाखापखेरामा देखिन्छ देवमाधुरी।
कृष्णका कटिको लामू दिव्य पीताम्बरैसरी।।78।।
प्रत्यक्ष सर्वसंहारी महामारीसमान यो।
आगाले जङ्गली जीव नामशेष गरीदियो।।79।।
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण।
डढेलो उसमा फेरि के रहन्थ्यो कठै वन?।।80।।
डढेलाले डढायेको वन देखिन्छ यो घरी।
नबाबले प्रतापाऽऽग्नि सल्केको भारतैसरी।।81।।
उडायो ग्रीष्मले सारा वसन्तकृत गौरव।
नीच पापी दुरात्माले सन्तको कीर्ति झैं सब।।82।।
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही।
दुरुस्त अघिको जस्तै फुलेको छ जहाँतहीं।।83।।
उपकारी महात्माको चित्त झैं स्वच्छ कोमल।
देखिन्छ भाग्यले यौटा शिरीषतरुमा फुल।।84।।
गम्भीर जलको भित्री तहमा नडुबीकन।
संसारभर पायिन्न आनन्दी शीतलोपन।।85।।
क्षणिकाऽऽनन्दमा लुब्ध जीव झैं मोहजालमा।
जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा।।86।।
निस्कनु दबिनुरूप विश्वक्रमनिदर्शन।
देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन।।87।।
देखिन्छन् जलमा पौडी खेलने ती थरीथरी।
दिव्य आनन्दगङ्गाका सजीव लहरीसरी।।88।।
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब।।89।।
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन?।।90।।
दिन रात दुवैको छ चौथो याम मनोहर।
चतुर्थाऽऽश्रम झैं आर्यजातिको शान्तिमन्दिर।।91।।
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ।।92।।
उदयाऽचलमा चारु निस्कँदा चन्द्रमण्डल।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल।।93।।
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरीथरी।
अटालीमा चढी बस्छन् रातमा च्याखुरासरी।।94।।
प्रचण्ड घामले गर्दा शुष्कप्राय चराचर।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर।।95।।
कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी।।96।।
बिहानीपखको राती मिल्छ जो शीतलोपन।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन।।97।।
सुतीरहन्छ दुनियाँ सूर्योदय हुँदा पनि।
अविद्याले अँठ्याएको वृद्ध भारत झैं बनी।।98।।
लाग्छ लामू कडा तातो दिन कल्पबराबरी।
ठण्डा रात बितीदिन्छ मानू एकै पलासरी।।99।।
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत।।100।।
भरसक पढि सारा ग्रीष्मको यो विचार
मनबिच लिनुहोला क्यै भयेदेखि सार।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो लेखनाथ।।101।।