301495तरुण तपसी1953लेखनाथ पौड्याल

भरिलो मुखचन्द्रमाधुरी
धमिल्याई उस तर्कले गरी।
अलि बेर चुपै रहे मुनि
पछि निस्क्यो अनि शीतल ध्वनि।।1।।

कठै यस्तै यस्ता हृदयदहमा तर्कलहरी
चलेकै वेलामा मनुजहरु आई थरिथरी।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
नराखी त्यो मेरो मधुर पगरीको छतिपति।।2।।

झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
ममा जो वर्षाये अबुझ बटुवाले उस घडी।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
बनीहाल्यो मेरो सकल चकनाचूर छुकुनी।।3।।

कुनै ती हल्लन्थे शिर सब थिची झयाँकुसि गरी
कुनै हान्थे, तान्थे, करकिशलयच्छेदन गरी।
कसैले मर्काये भरसक निमोठी परपरी
बिपत्ता भैहाल्यो प्रकृतिकरुणाप्राप्त पगरी।।4।।

म त्यो चौरस्तामा जुन थकित लाखौं पथिकको
सदा माला फेर्थें परम हित वा शान्तिसुखको।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
अली क्यै मैलो भो कठिन तपको सिद्धिसपना।।5।।

लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयनयुगको कान्ति धमिलो।
उदेकायें, हाँसें मनुजजुनिको त्यो पतनमा
पर्यो कालो रेखा अलिकति उदासीन मनमा।।6।।

स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वीचोलाको विधिनियम हो शान्त रहने।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहें
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहें।।7।।

कठै भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोकाडालाउपर सब त्यै भोज्यविभव।
त्यहीं आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटी हेरी फगत रखवारीकन गरी।।8।।

स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी।
गला फारी फारी सब कहन थाले ऽ:किन, किनऽ:
कुनै माने मैले डबल ऽ:किनऽ:को जान्न शकिनँ।।9।।

मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु।
अनी हा हा भैगो, सब कहन थाले ऽ:पर परऽ:
विना पैसा दिन्नौं मुफत किन गर्छौ करकर?।।10।।

सफा सेताराता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी।
दिनेले त्यो पाये, दिनलिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु।।11।।

लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर
दिई खाना जम्बै जब जब गयेथे घर घर।
अनी सम्झें मैले डबल ऽ:किनऽ:को अर्थ गहिरो
चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो।।12।।

अहो पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो
कहाँ कैले निस्क्यो? कसरि दुनियाँको मन जित्यो?
कठै जस्को लागी अमृतमय त्यस्ता फल पनि
शुकी भोकै आफू, अरुकन दिये ऽ:लौ किनऽ: भनी।।13।।

न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञाबल, न त कुनै शान्ति मनमा।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति।।14।।

बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो त्यस्तो कालो विनिमयकला सिर्जन गरी।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे अन्धो लोभी मनुज धसिँदै गो तल तल।।15।।

चमत्कारी प्रज्ञाबलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममताग्रन्थि त्यसरी।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो?
कठै यस्को भित्री नयन किन तेसै धमिलियो?।।16।।

क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय?।।17।।

जगत्मा पैसाले विनिमयकला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेलबखडा।।18।।

नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेकज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि हरि।।19।।

जसै यो पैसाको नयनयुगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको।।20।।

अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला
जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो?।।21।।

विधाताले कैले? किन? कसरि? कस्तो कुदिनमा?
विषालू पैसाको अभिरुचि वृथा मर्त्यमनमा।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी।।22।।

बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै आँशू मेरा पनि चुहुन थाले तपतपी।।23।।

मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको।
न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति?।।24।।

कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी।
अहो कत्रो पैसाजनित जनमा यो विषमता?
यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता?।।25।।

बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी।।26।।

अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैं संसारी मनुज बिचरा भुन्भुन गरी।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै के फुत्कन्थे तर सब तिनी प्राण नछुटी?।।27।।

विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा।
बगैंचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै तेसै जाला कठिनतम यो व्याधि कसरी?।।28।।

कडा जोशी, दोषी, तमक, हठ वा गर्वगुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्यजुनिको।।29।।

सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुणमधुरिमा सोत्तर गरी।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय।।30।।

भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन।
कठै जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी।।31।।

इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै जीवहरुको।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी।।32।।

कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवनकलि।।33।।

कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी।
नडूबे पैसाको मलिन ममतारूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा।।34।।

क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी।
जगत्मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति।।35।।

क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान
मनुजचरितलाई दुःखको नै निधान।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त।।36।।