301496तरुण तपसी1953लेखनाथ पौड्याल

कविजी प्रिय शिष्य झैं बनी
कर जोडेर सबै कुरा सुनी।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन।।1।।

धमीलो त्यै पैसाविषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा।
खडा भो वर्षाको समय, फिर त्यो कृष्णरजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि।।2।।

न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तमजलधिमा गैकन पस्यो।
मसीमा चोबिन् वा प्रकृतिजननीले गगन यो
बिलायो वैषम्यस्थिति, सकल एकाम्मय भयो।।3।।

दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थें वा खेल्थें हृदयगत अन्तर्जगतमा।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखें किरणकणिकाको पिलिपिली।।4।।

तमासा यो क्या हो? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायें चटुलगति सानू जुनकिरी।।5।।

झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोकगठरी।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।।6।।

प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ?
सुधावर्षा गर्ने विशद विधुको गौरव कहाँ?
कहाँ त्यो विद्युत्को चहक? फिर तारा ग्रह कहाँ?
कठै त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ?।।7।।

पखेटा खुल्दा त्यो क्षणभर हिरा झैं झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौं देखायो चटकमय लीला हरि हरि।।8।।

घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौं लिइकन
बलैले त्यो गर्थ्यो तमजलधि सम्पूर्ण मथन।।9।।

दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी।।10।।

थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैं झलक, धृति, उत्साह बहना।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी? हरि हरि।।11।।

जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनें मर्मस्पर्शी वचन उसलाई अलिकति।।12।।

तँ सानै छस् बाबू तर तँसित आलोककणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा।।13।।

हजारौं तैं जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली।
गये वा जाँदैछन् तँ पनि तिनि झैं कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी।।14।।

तँ सानू, त्यो सानू किरणकण, सानू गतिविधि
कठै त्यो झन् सानू, निविड तमविच्छेदनविधि।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा।।15।।

न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपलबिजुली दर्शनखुशी।
अहा त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणयफुल मेरा उतिउति।।16।।

न त्यो तेरो तातो छवि छ रविको झैं अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीतबखडा।
अनौठाको, सानू तर मधुर आलोकगठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी।।17।।

फुका बाबू भित्री किरणगठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजयसुखको दुन्दुभि बजा।।18।।

कुनै गर्जोस् कालो घन घनघटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस्।
स्वयं दल्दै मल्दै कठिन पिरबाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा।।19।।

खुलायिस् यो मेरो नयन जुन आलोकलवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैं बढ्दै जाऊन् अनवरत कर्तव्यपथमा।।20।।

उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको।।21।।

प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवणबिच चैतन्यमुरली।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस्।।22।।

अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा।।23।।

बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो? अझ नभरिने त्यो हरि हरि।।24।।

कठै कस्ता कस्ता पुरुषहरु लाखौं चहकिला
नजान्नाले भित्री गहन तमको भेदनकला।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा।।25।।

म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैं सम्झी त्यो तर कति पलाको पिलिपिली?।।26।।

म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवनकला
गर्यो उस्ले मेरै शिरबिच कठै दीर्घ सुकला।।27।।

यति भनि तपसीले सूक्तिनिस्यन्द थामे
करकमल उठाई आफनै माथ छामे।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो।।28।।