301516तरुण तपसी1953लेखनाथ पौड्याल

मुनिबाट सुनेर त्यो सब
पसिनाको परिपाकगौरव।
कवि जाँगरिलो हुँदै गये
अमिरी जीवनमा घृणा लिये।।1।।

यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी।
पुग्यो माथी माथी, विधिनियम हेर्यो, तल झर्यो
पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो।।2।।

चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
जगत् सारा हेर्दै चरम गिरिपारी रवि चले।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
उपर्ना झैं रातो दिवसकरको कान्तिगरिमा।।3।।

चरा, गाई, ग्वाला, कृषकहरु साऽऽनन्द सुरमा
सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा।
निशाले तत्कालै तल तल तमोरूप कबरी
लतारी ताराका कुसुमकलि उन्दै शिरभरी।।4।।

नवीना त्यो श्यामा सरस ललिताऽऽकार रजनी
सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
फुक्यो जस्ले गर्दा विषयसुखको मञ्जुल कलि।।5।।

समेटी बिस्तारै मृदुल करले चारु कबरी
निशालाई मानू प्रणयवश आलिङ्गन गरी।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल।।6।।

पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
भयें राम्री गोरी अब त म भनी गद्गद बनी।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्गसुखको।।7।।

बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी।।8।।

प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति।
सरेको हो यद्वा प्रणयसुखको सम्मिलनमा
परेको हो छाया निविड कबरीको वदनमा।।9।।

प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्यकलश।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
म थालें वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु।।10।।

पगालेको चाँदीमय किरणमाला टललल
जटामा बग्नाले अमृतरस छर्दै सललल।
हुँदै जान्थ्यो मेरो स्तुतिवचनमा गद्गद गला
म भन्थें साठी होस् अमृतकरको शीतल कला।।11।।

त्रियामा त्यो श्यामा अमृतकरका दिव्य करमा
बनी धन्या मान्या प्रमदजननी विश्वभरमा।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
हुनासाथै पाणिग्रहण, उसका दुर्दिन गये।।12।।

थिये साना साना किरणकणिका जो गगनमा
बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
गराये संसारै अमृतकरले नै झिलिमिली।।13।।

चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
धराको छातीमा अमृतमय माधुर्य भरियो।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
प्रजा अन्धो दुःखी कसरि रहला शान्तिसुखमा?।।14।।

ठुलाको सानाको रतिभर कुनै भेद नगरी
स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा।।15।।

बिचैमा लर्केको रजतघट देखी तरतरी
चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चुचपल
चकोरश्रेणीले जुन सब गर्यो पूर्ण सफल।।16।।

जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
नुहाई वा थापी शिर, अटल भै कत्ति नचली।
भिजायें बिस्तारै मगज, बहुतै शीतल भयें
पछी सुस्तै फेरी नयनयुग माथीतिर दियें।।17।।

विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी।
वहाँ हेर्दाहेर्दै हृदयदहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्पलहरी।।18।।

बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृतकरका साबुन दली।
चुहाई चौतर्फी अमृतरसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी?।।19।।

जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि।।20।।

स्वयं गोता मारी अमरतटिनीमा दिनभरी
किनारामा उत्री किरणफुहरामा जल भरी।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी?।।21।।

बनायो कस्ले त्यो रजतघट? पीयूष उसमा
भर्यो कस्ले? पोत्यो कुन सकसले दिव्य सुषमा?
कहाँ देखी निस्क्यो? उपर उपरै चल्छ कसरी?
कहाँ पुग्ने होला? गगनपथको मङ्गल गरी।।22।।

अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा।
अहो त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन ऐले भुवनभर गोरोचन घसी।।23।।

चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई।
घुमाई को, कस्को हरबखत नीराजनविधि
अहो गर्दो होला मधुर छवि छर्दै निरवधि?।।24।।

अहो पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो।।25।।

यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी।।26।।

म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
मुटूले भेट्टायो गगनगुरुको रूप सकली।।27।।

बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु?।।28।।

खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली।।29।।

न ता देखें पर्दा दिवसरजनीको नगिचमा
न ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा।
न भास्यो आकाशै, न फिर अवकाशै अलिकति
अहा कस्तो कस्तो अति अगम त्यो व्यापक चिति।।30।।

म त्यो वेला फेरी गुरुचरण सम्झीकन झुकें
झुकें माने सृष्टिस्थितिनियम भन्दा पर लुकें।
कसो भो? के के भो? फगत म थियें गद्गद अति
अहो मैले मेरै उस बखतको सम्झिनँ गति।।31।।

खुशिसँग सब यस्तो शान्तिपीयूषवृष्टि
श्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि।
मुनिवर चुप लागे पूर्ण आनन्दसाथ
भुलन शकिनँ मैले भाग्यको त्यो प्रभात।।32।।