301515तरुण तपसी1953लेखनाथ पौड्याल

पिउँदा पिउँदै प्रतिक्षण
मुनिको वाक्यसुधा विलक्षण।
कविको मन त्यो पुग्यो वहाँ
गहिरो नीरवता थियो जहाँ।।1।।

अहो सुन्दासुन्दै अबुझ दुनियाँको रिमिझिमी
अकस्मात् टोल्हायौ कविवर बिचैमा किन तिमी?
तिमी सुन्दै जाऊ विविध घटनाचक्र सब त्यो
जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो।।2।।

थियो त्यो मौकामा उभय जुगको सन्धिसमय
सबैलाई लाग्थ्यो मनमन ठुलो संशय भय।
न जाने के होला भनि सब थिये शङ्कित अति
सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति।।3।।

दुवै लड्दालड्दै नियतिवश विज्ञान बलियो
विजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकली
विजेताले पायो तर पनि ठुलो नाम सकली।।4।।

कठै त्यस्ले गर्दा कठिन जडवादीपन बढ्यो
कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो।
घुम्यो मेरो माथा, गम अगमतामा बदलियो
बग्यो आँशू, आँखा किन किन बिझायो, धमिलियो।।5।।

कडा बेचैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो।
निमेषैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा।।6।।

उता हेर्नासाथै अगम नभको नील परिधि
यताको यो बिर्सें उभय जुगको सङ्क्रमविधि।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै
चल्यो माथी मेरो नयन नभमा चक्कर लिंदै।।7।।

पलाको आधामा गगनमय त्यो शून्य नगरी
घुमी फन्का मारी हरकिसिमको कौतुक गरी।
खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गर्यो
हवाको झोक्कामा जलद उसको सम्मुख पर्यो।।8।।

सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
लगामैको शोभा चपल बिजुलीमा उदित भो।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।।9।।

कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी।
जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी
हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी।।10।।

सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा
धरी भर्दै मीठो महक उसका यक्षपुरमा।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
थियो जस्को लीलामय लचकिलो मञ्जुल गति।।11।।

कतै नामी विद्याधरयुवक विद्या सब शिकी
रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु।।12।।

कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा
बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा।
अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी।।13।।

चढी धागो जस्ता अमृतमय शीता शुकरमा
सुरेलीको साथै ललित झुलनाको रहरमा।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल दह।।14।।

कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी
बसी आकाशैमा नियमसित सिद्धाऽऽसन कसी।
डुबेका देखिन्थे अगम परमाऽऽनन्दरसमा
थियो जस्को साह्रै मधुर मुखको शान्तिसुषमा।।15।।

कतै विद्युल्लेखाललित छरिता उन्मद परी
बिखेर्दै चौतर्फी महकमय माधुर्यलहरी।
हवामा पौडन्थे जुन पवनको स्पर्शसुखमा
तपस्वीको पुग्थ्यो जपतप सबै मृत्युमुखमा।।16।।

विमानश्रेणीमा भ्रमणपटु वैमानिकहरू
कतै उड्थे लम्बा सफरसुख भोगी हुरुरुरु।
अहा जस्को छाया ध्वनिमधुरिमाले छक परी
तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी।।17।।

कतै शोभा छर्दै कठिन तपको सिद्धरमणी
लटामा लर्काई सुरकुसुम वा शङ्करमणि।
बहन्थे वा उड्थे सररर निरालम्ब पथमा
चढी ज्यादा तेजी हृदयकृत सङ्कल्परथमा।।18।।

कतै उस्तैउस्ता कुसुमभरले मत्थरगति
वसन्तश्री जस्ता मगनमदिरामस्त युवति।
हठी सिद्धिप्रेमी कठिन तपमा मस्त जनको
तपस्यामा गर्थे नयनशरले घात ननिको।।19।।

कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि
उनी वन्यश्रीले खचित वनदेवीमय बनी।
मजा मानी गर्थे उपवनविषे किन्नरसुता
लुकामारी साथै हरकिसिमको रङ्गरमिता।।20।।

कता राम्रा रत्नद्युतिमय दिशापालसदन
कतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन।
कतै चन्द्रज्योत्स्नाधवल सुरगङ्गानिकटमा
तपस्वी देखिन्थे तपशिखर झैं टम्म तटमा।।21।।

कतै रक्षोभूत प्रभृति गणका बाल वनिता
गला फारी पढ्दै हरचरितका गीत कविता।
निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी
थियो जस्को केही पर उपर कैलासनगरी।।22।।

तमासा ती खासा उपसुरपुरीका सब थरी
निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी।
चढ्यो फेरी मेरो नजर नभमा साहस गरी
सबै त्यागी साना कुसुमकलिका षट्पद सरी।।23।।

तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्परथमा
चढी उड्दाउड्दै अति वितत आलोकपथमा।
पर्यो सामुन्नेमा अति चहकिलो दिव्य नगरी
थियो जो शोभाको निरुपम महासागर सरी।।24।।

त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको
खुशीको हावाले विकसित भयो भाव मनको।
जता फर्की हेर्यो सुखमय उतै रामरमिता
थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता।।25।।

विधाताको यद्वा नियतिगतिको लाखन थरी
चमत्कारी लीला सबतिर सदा सूचित गरी।
बनेका बेगिन्ती उस नगरमा रङ्गमहल
मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल।।26।।

झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला।।27।।

कतै छन् स्वर्गङ्गाजलरचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा।
कतै अग्ला ज्योतिर्मय मणिशिलाशैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला।।28।।

हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि?।।29।।

जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण?।।30।।

बगेकी चौतर्फी कलकल सदा शान्तिसरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैं कल्पतरुको।।31।।

दया, मैत्री, श्रद्धा, प्रणयरसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव।
सबै मर्यादा वा विधिनियमको पालन गरी
रमायेका दैवी विषयसुखमा निर्जर सरी।।32।।

न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा
न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा।
न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला
अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला।।33।।

त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा
फसेको यो मेरो नयन मनमोजी बहकमा।
भयो घुम्दाघुम्दै उस बखत आश्चर्यचकित
जसै देख्यो ढोकाउपर कविता निम्नलिखित।।34।।

धरित्रीमा सत्य, श्रम र पसिनाको भर परी
तपस्या जो गर्छन् सरल मनले जीवनभरी।
तिनैको त्यै सत्य, श्रम र पसिनारूप तपको
चिरस्थायी यै हो परिणति उज्यालो गजबको।।35।।

गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना
पियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना।
यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति
कुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति।।36।।

पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल
उदेकाई केही समयतक फेरी तल तल।
म फर्कें, फर्कायें नयन, तर त्यो दिव्य नगरी
रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी।।37।।

निरुपम पसिनाका स्वर्गको सार सार
मसँग सब बताई भित्र अर्कै विचार।
लिइ मुनि बनिहाले मौन भावैक धाम
म पनि मनन त्यस्को गर्न लागें तमाम।।38।।