301497तरुण तपसी1953लेखनाथ पौड्याल

पिउँदै रसिलो सुधा सरी
मुनिको भावुक भावमाधुरी।
कवि दङ्ग थिये पला पला
फिर सुस्तै मुनिको खुल्यो गला।।1।।

पर्यो मैलो छाया किन किन उदासीन मनमा
म टोलायें ज्यादा उस जुनकिरीको निधनमा।
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
फुक्यो याताऽऽयातक्रम विषय वा जीवनबही।।2।।

परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
फराकीलो छायाजडित उस चौकीउपरमा।
ठुला साना लाखौंथरि पथिक थाले बटुलिन
बन्यो मानू चौकी थकित सबको शान्तिसदन।।3।।

झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी।
लिई आडा मेरो पथिक पथको सङ्कट छली
सुबिस्ताई लाखौं किसिमसित गर्थे खलबली।।4।।

गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती।
त्यहाँ जो जो बस्थे विविध तिनको भावलहरी
म देख्थें, फन्कन्थे हृदयदहमा तर्कभुमरी।।5।।

कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने।।6।।

हजारौं के लाखौं पथिकहरुमा भित्र सुकिला
थिये यौटा दोटा, अरु सकल काला र कुचिला।
कठै रुञ्चे दुःखी हृदय सबको लाखन थरी
दुराशाले गर्दा गरम ऋतुको चातक सरी।।7।।

कसैलाई कोही न अनुभव विश्रान्तिसुखको
कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको।
जता हेर्यो तृष्णामय विकट ऽ:कालाज्वरऽ: उठी
डढेको छातीमा हरबखत कालो भुटभुटी।।8।।

बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको
थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको।
कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु।।9।।

कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै।
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे।।10।।

रही एवंरीत्या अटल उस चौकीबिच खडा
सबै याताऽऽयातक्रमविषयको दीर्घ रगडा।
जती हेर्दै जान्थें पथिकजनको आखिर उति
मलाई झल्कन्थ्यो उस मनुजताको अवनति।।11।।

कसैको आँखाले उदरसित भन्थ्योजुनिभरी
झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी?
कसैको त्यै आँखासित उदर भन्थ्योअति भयो
तँ लोभीले गर्दा हल न चल मेरो गति भयो।।12।।

कसैको टोपीको मलमलिन घेरो छ शिरमा
ठुटे, चिल्थो भोटो फगत पसिनापूर्ण हरमा।
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञानगठरी।।13।।

कुनै कालो तृष्णाजलधिबिच घाँटीतक डुबी
लिऊँ यै चोलामा धनधवल कौवेर पदवी।
भनी कौडी कौडीउपर मुटुका रक्तकणिका
झुकायेका देखे दिवसविधु जस्तै अति फिका।।14।।

अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी
उठेका ठेलाले कठिन बिचरा पत्थर सरी।
कसैका हत्केला मधुर मुहुनीदार मुहर
छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर।।15।।

नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति
कसैका हत्केला कमलदल झैं कोमल अति।
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी
उनै भारीबोका गरिबकन ज्याला दिन पनि।।16।।

कडा अड्बेखड्बे बगर, कँटिलो जङ्गलतटी
उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी।
कसैका पैताला समझ नभयेको पशु जुनी
भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी।।17।।

जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरास्पर्श नगरी।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुजमतिदेखी धपधपी।।18।।

कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा।।19।।

डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै भोकचिडिया।।20।।

कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकीनगिचमा।
कहन्थे डोले हो नभन ऽ:अब बस्छौं, गरम भोऽ:
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो।।21।।

झिकी बासी सत्तू जठरहरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो।।22।।

कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौं लपलपी।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी।।23।।

कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका
फुटाई पल्टाई चपलगति दुर्भाग्यगुटिका।
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी
मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी।।24।।

तलासेका चिल्ला महक उडने बालहरुमा
कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा।
खरानीले गर्दा शिव शिव कसैको शिरभरी
सुनाझाँक्रीको झैं चमक चमकन्थ्यो सुनहरी।।25।।

यताको यो चिल्लो छवि फिर उताको सुनहरी
प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी।
उनै फुस्रा धुस्रा, कृषकहरुका मध्य शिरमा
मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा।।26।।

धराको छातीमा तपतप चुहेका अति घना
टिपी मोती जस्ता श्रमजलधिका दिव्य पसिना।
कुनै उन्थे माला जनमभर सौभाग्यसुखको
कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको?।।27।।

झुटा साँचा लाखौं विधिसित सबैमाथि सबको
खिचातानी चल्दा फगत पसिनाको विभवको।
अशान्तिज्वालाको घर घर थियो नित्य नचरी
सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी।।28।।

सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर
सबैको अर्कैमा गरम पसिनामाथि रहर।
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ
नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन।।29।।

जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखें वजन अथवा मान गह्रुका।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।।30।।

मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति।
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि हरि।।31।।

क्रमसित उस चौकीमध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त।।32।।